नेपालमा सडक दुर्घटना बढ्नुका कारण र  रोकथामका उपायहरू, यस्तो छ पूर्व आईजिपी खनालको सुझाव

 नेपालमा सडक दुर्घटना बढ्नुका कारण र  रोकथामका उपायहरू, यस्तो छ पूर्व आईजिपी खनालको सुझाव


काठमाडौ । नेपालमा दिनानुदिन सडक दुर्घटनाहरु बढ्दै गईरहेका छन् । नेपालमा मनसुन सुरुवातसंँगै देशैभरका धेरै सडकको अवस्था दयनीय देखिन थालेको छ । भौगोलिक दृष्टिकोणले हिमाली र पहाडी भागहरूमा सडक अवरुद्ध हुने क्रम जारी छन् । जसका कारण सर्वसाधारण मर्कामा परिरहेका छन् । राजधानीलगायतका मुख्य सहरमा समेत सडक व्यवस्थित रूपमा निर्माण हुन नसक्दा ढलसमेत सडकमै बग्ने र यातायात अवरुद्ध हुने समस्या बढ्न थालेका छन् । वर्षायाममा सडक अवरुद्ध हुँदा सवारीसाधनमा सर्वसाधारणको सहज पहुँच हुन सकिरहेको पाइँदैन । मुलुकका विभिन्न स्थानमा सडक दुर्घटनामा थुप्रै नागरिकले ज्यान गुमाएका र कैयौँ घाइते भएका दुःखद समाचार आइरहेका छन् ।

पहाडै–पहाडले भरिएको नेपालका सडक आफैंमा सुरक्षित छैनन्। साँघुरोपना, जटिल घुम्ती, अनि बाटोकै गुणस्तर जस्ता कारण पनि दुर्घटना भएका छन्। सडक निर्माणसँगै सवारी साधनको सुविधा जुन गतिमा प्राप्त हुन्छ, त्यही गतिमा दुर्घटना पनि बढिरहेका छन्। नेपालको भौगोलिक र धरातीय अवस्थाका कारण अपेक्षाकृत सजिलै सवारी दुर्घटना हुने गर्छ । सडकको सतह मिलेको छैन । उकालो र भिरालो, साँघुरो सडक दुर्घटनाका कारण हुन् । पहाडी भागमा पहिले सडक सानो भएकाले निर्बाध दोहोरो गाडी चलाउन समस्या हुन्छ । साइड नपुगेर ब्याक गर्नुपर्ने वा चालकहरूको घमण्डीपना वा सबैलाई छिटो पुग्नुपर्ने हतारोका कारण साँघुरोे बाटोमा पार हुन साइड नपुगेर ठोकिएका वा खसेका हुन्छन् । सडक चौडा गर्ना जमीनको अभाव र बजेटको समस्या देखिन्छ । तलतिर ठाउँ नभएको र माथिल्लो भागमा कडा चट्टान वा भिरालो जमिन भएको कारणले बाटो विस्तार गर्ने काम पनि चुनौतीपूर्ण हुन्छ ।

अनुसार क्षमताभन्दा बढी यात्रु चढाउने, ओभरलोड, हतारिएर सवारीसाधन चलाउने र सडकको दुरवस्थाका कारण सडक दुर्घटना हुने गरेको नेपाल प्रहरीका पूर्व आईजिपी सर्वेन्द्र खनालले बताएका छन् ।  उनले भने – ‘राजधानीभित्र बिस्तारै ट्राफिक जाम बढ्न थालेको देखिएको छ । राजधानीलगायत मुख्य राजमार्गहरूमा जथाभावी पशु चौपाया छोडेका कारण र वर्षौंदेखि राखिएका ट्राफिक सङ्केत चिह्नहरू (बत्ती) अझै पनि नबल्दा थप दुर्घटना बढेको अवश्य नै हो ।’ 

 पूर्व आईजिपी खनालले भने  ‘चाडपर्वको समयमा तीव्र गति, मदिरा सेवन र ट्राफिक नियम उल्लङ्घन गरी जथाभावी सवारी चलाउंँदा नागरिक अकालमै मृत्युवरण गर्न पुगेका छन् । सवारी चालकको अत्यधिक लापरबाहीका कारण सडक दुर्घटना बढेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ तर यो मात्रै सडक दुर्घटनाको कारण भने अवश्य होइन । सरकारले सडकसम्बन्धी ठोस कानुन कार्यान्वयनमा कडाइ, सडक मर्मत, सवारी चालक अनुमतिपत्र दिँदा पु¥याउनुपर्ने तालिमलगायतका विषयमा ध्यान दिनु आवश्यक छ ।’

राजधानीभित्र र राजधानीबाहिरका राजमार्गहरू फराकिलो बनाउने भन्दै सरकारले काम थाले तापनि विभिन्न बाधा अड्चनका कारण समयमै काम सकिएको छैन भने कम गुणस्तरका सामग्री प्रयोग गरी पुल निर्माण हुंँदा पुल भासिने र भत्किएको समाचार हाम्रा अगाडि आइरहेकै छन् । 

उनले् भने  ‘सरकारले सडक सुधार र ट्राफिक व्यवस्थापनका लागि समय–समयमा धेरै पटक अनेक नीति नियमहरू र प्रतिवेदनहरू सार्वजनिक गर्ने गर्दछ तर ती व्यवहारमा कति हदसम्म लागू भए, भएनन् भनेर मूल्याङ्कन सरकारले गर्न सकिरहेको छैन । सडक चौडा र फराकिलो हुनेबित्तिकै सवारी दुर्घटना कम हुने होइन । जबसम्म आम सवारी चालक, पैदल यात्रुबीच जनचेतना जागृत हुँदैन तबसम्म दुर्घटनामा कम हुन सक्दैन । सडक विस्तारको क्रममा सडकमै रहेको बिजुली, टेलिफोनका पोल, इन्टरनेटका तारहरू यत्रतत्र छरिएर रहेका र वातावरण बिगारिरहेका छन्, यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ ।’  

त्यस्तैगरी नेपालमा सवारी दुर्घटना बढ्नुको प्रमुख कारणमध्ये थोत्रा सवारीसाधन चलाउनु, दशकौँदेखि सडकको स्तरोन्नति नहुनु, खाल्डाखुल्डी, सडक छेउछाउमा बनाइएका अव्यवस्थित भौतिक संरचना आदि रहेका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय उच्च रक्तचाप, तनाव, मोबाइलको प्रयोग, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढेकोका छन् । यस्ता दुर्घटना न्यूनीकरणका लागि चालक आफैँ सचेत, अनुशासित हुनुका साथै सवारीसाधनको अवस्थासमेत राम्रो हुनुपर्ने पूर्व आईजिपी खनालको भनाई छ ।