उपमेयर र तीन जना वडाध्यक्ष सहितको बैठकपछि कार्यपालिका डाक्न तयार भए मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कार्यपालिका बैठक र नगरसभा बोलाउन तयार भएका छन्। बुधबार काठमाडौं प्लाजामा उपमेयर सुनिता डंगोल, तीन जना वडाध्यक्षसहितको उपस्थितिमा भएको छलफलमा मेयर बालेन शाहले कार्यपालिका बैठक बोलाउने सहमति जनाएका हुन्।
छलफलमा वडा– १७ का वडाध्यक्ष नवीन मानन्धर, वडा–३२ का वडाध्यक्ष नवराज पराजुली र वडा– १५ का वडाध्यक्ष ईश्वरमान डंगोल सहभागी थिए। हिजो मेयर साब चाँडै कार्यपालिका बैठक र नगरसभा डाक्न सहमत हुनुभएको छ, मानन्धरले भने, अब चाँडै बैठक बस्छ।
पछिल्लो समय पुसदेखि कार्यपालिका बैठक बस्न सकेको थिएन। जसले गर्दा महानगरको बजेट समेत अन्योलमा परेको थियो। काठमाडौं टावर नक्सापास विवादमा प्रमुख प्रशासकीय अधिकृ सरोज गुरागाईंलाई तीन महिनासम्म कार्यालय प्रवेशमा रोक लगाइएको थियो। काठमाडौं महानगरको आर्थिक गतिविधि ठप्प पारेको लगायत अन्य विषयमा प्रश्न उठाउन १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यले चैत १० गते कार्यपालिका बैठक माग गरेका थिए।
जेठ १२ गते उपमेयर सुनिता डंगोलको नेतृत्वमा कार्यपालिका सदस्यहरूले एक साता भित्र कार्यपालिका माग गरे पनि बालेनले बैठक बोलाएका थिएनन्।
त्यसको लगत्तै १५० जनाभन्दा बढि भेला भएको एक अनौपचारिक कार्यक्रममा नगर सभा सदस्यहरूले मेयर बालेनलाई नगर सभा डाक्न अनुरोध गरेका थिए।
थर्ड पोल 