गगनलाई बधाई दिँदै श्यामकृष्णले भने- मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन
नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले १५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापालाई बधाई दिँदै पार्टीभित्र एकता कायम गर्न र फरक मत राख्ने सबैलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् ।
सभापतिमा प्रतिस्पर्धा गरेका खड्गीले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचन परिणामलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै पार्टीको एकता, आपसी सम्बन्ध र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । ‘नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदमा मेरो प्रिय मित्र गगनकुमार थापाज्यू र मबीच भएको मित्रवत् प्रतिस्पर्धामा विजयी हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।
निर्वाचनमा सहभागी भएर मतदान गर्ने महाधिवेशन प्रतिनिधि तथा आफूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति नेता खड्गीले आभार व्यक्त गरेका छन् ।
निर्वाचनको परिणाम जस्तो भए पनि आफूलाई प्राप्त माया, विश्वास र सद्भावलाई अमूल्य राजनीतिक सम्पत्तिका रूपमा लिएको उनको भनाइ छ ।



थर्ड पोल 