मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा, कालीगण्डकी करिडोर पनि ठप्प

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा, कालीगण्डकी करिडोर पनि ठप्प

काठमाडौं । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ ।

विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलीब्रिज निर्माण गरिएको थियो । रातो पुल बगाएको सात महिनापछि सञ्चालनमा आएको बेलीब्रिज जोगाउने प्रयास भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

सो पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ र २ का बासिन्दालाई आवतजावत गर्न सहज बनाएको छ । हेलम्बु–४ स्थित बस्ती र विद्यालयसमेत बाढीको जोखिममा रहेको स्थानीय श्याम लामिछानेले बताए ।

त्यस्तै शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ । वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने उनको भनाइ छ ।

यस्तै, शनिबार बिहानैदेखि करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१, ठेउले खोला र जिमिरघाटमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ ।