युरोप पठादिन्छु भन्दै ६ सय व्यक्तिलाई ठगी गर्ने पक्राउ

 युरोप पठादिन्छु भन्दै ६ सय व्यक्तिलाई ठगी गर्ने पक्राउ

काठमाडौं । युरोप पठाउने प्रलोभन देखाई ६ सयभन्दा धेरै सर्वसाधारणबाट करोडौं रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले उक्त व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा जिल्ला ललितपुर नत्लु गाविस वडा नम्बर ५ हाल परिवर्तित कन्जोसोम गाउँपालिका ४ घर भई हाल जिल्ला ललितपुर इमाडोल बस्ने वर्ष ३२ का विकास बाइवा भन्ने सुजन तामाङ रहेका छन् । 

काठमाडौं महानगरपालिका १६ बालाजु चोक स्थितमा यूरो विङ्स् शिक्षा परामर्श संस्था संचालन गरी आफूलाई विकास वाइवाको नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसियालगायतका देशहरूमा पठाइदिन्छु भनि प्रलोभनमा करोडौं रकम ठगी गरेको कसूरमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले बताएका छन् ।  

उनका अनुसार अनुसन्धानको क्रममा तामाङ २०७३ सालबाट आयुष मेनपावरलगायत विभिन्न मेनपावरहरूमा ऐजेन्टको रूपमा काम गर्न थालेका थिए । करिब पाँच वर्ष एजेन्टको कामगरी विभिन्न व्यक्तिहरूलाई खाडी मुलुकमा पठाउन सुरु गरेका थिए ।

उनले सरकारी निकायका कर्मचारीलाई समेत युरोप पठाउने भनि रकम लिई नक्कली भिसा देखाई जागिर छोड्न लगाएको खुल्न आएको छ । विकास वाइवाको नामबाट बैंक खाता खोली आफैँले हस्ताक्षर गरी बैंक÷वित्तिय तथा अन्य सम्पूर्ण कारोबार गर्ने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । २०७७ सालमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा फरार रहेका तामाङलाई कार्यालयबाट खटिएको विशेष टोलीले माघ १७ गते ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।