भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता
जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन् । महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन् ।
भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्यास पाउन नसकेको बताइन् । यसअघि आधा मात्रै भरिएको सिलिन्डर पाएकी उनले त्यसयता अर्को सिलिन्डर पाउन नसकेको गुनासो गरिन् ।
बजारमा ग्यास सहजै पाइन्छ भन्ने सुने पनि आफूले अहिलेसम्म नपाएको उनको भनाइ छ । “अहिले पनि ग्यास खोज्दै भौँतारिरहेकी छु । ग्यास डिलरदेखि खुद्रा बिक्रेतासम्म धाउँदा पनि पाइँदैन । फोन गर्दा ग्यास नै आएको छैन भन्नुहुन्छ”, उनले भनिन्, “बजारमा ग्यास सहज भयो भन्छन्, तर हामीजस्ता उपभोक्ताले कहाँबाट पाउने ?”
आफूसँग भएको सिलिन्डरको ग्यास सकिन लागेपछि अर्को सिलिन्डरको व्यवस्था गर्न खोज्दा पनि समस्या भएको उनले सुनाइन् । केही थप शुल्क तिरेर भए पनि अर्को कम्पनीको सिलिन्डरसँग साटेर ग्यास लिन सकिन्छ कि भनेर बिक्रेतालाई अनुरोध गर्दा सहयोग नपाएको उनको गुनासो छ ।



थर्ड पोल 