पूर्वराष्ट्रपति भण्डारीको सक्रियतापछि एमालेभित्र चर्कियो तरंग, ओलीले दिए चेतावनी

 पूर्वराष्ट्रपति भण्डारीको सक्रियतापछि एमालेभित्र चर्कियो तरंग, ओलीले दिए चेतावनी


 काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कनेबारे औपचारिक निर्णय नगर्दै एमालेभित्र तरंग पैदा भएको छ। चीन भ्रमणबाट फर्किएपछि पूर्वी नेपालका झापा, मोरङलगायत जिल्लामा भण्डारीको भेटघाट र सक्रियता बढेसँगै अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट देखिएका छन्।

ओलीले आइतबार कीर्तिपुरमा आयोजित अनेरास्ववियुको २४औं महाधिवेशन उद्घाटन समारोहमा पार्टीभित्रको सम्भावित गुटबन्दीप्रति आक्रोश पोख्दै भण्डारीको पक्षमा खुलेर नउभिन कार्यकर्तालाई चेतावनी दिए। उनले पार्टीमा कसैलाई अध्यक्ष वा महासचिव बनाउनेबारे कुनै औपचारिक छलफल नभएको स्पष्ट पार्दै बाहिर हल्ला फैलाएर पार्टी कमजोर पार्न खोज्नेहरूलाई सिधा जवाफ दिन कार्यकर्तालाई आग्रह गरे।

भण्डारीको झापा भ्रमणका क्रममा एमाले जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, महिला संघकी नेतृ मेनुका काफ्ले, बिर्तामोड नगर प्रमुख पवित्रा महत्तरलगायतले उनलाई पार्टी अध्यक्षका रूपमा चाहेको बताएका थिए। विराटनगर हुँदै झापा जाँदा भण्डारीसँग कोसी प्रदेश इन्चार्ज शेरधन राईलगायत नेताहरू पनि साथ थिए।

भेटघाटमा ओली पक्षका नेतृ रोजिना पाण्डे, पवित्रा खरेल, निता घतानीसमेत सहभागी भए। भण्डारी आइतबार पनि झापाका विभिन्न कार्यक्रममा सक्रिय रहिन्। ओलीको गृहजिल्लामा भण्डारीको सक्रियताले अध्यक्ष ओली थप असन्तुष्ट बनेको बुझिएको छ।

त्यसक्रममा ओलीले विद्यार्थी नेताहरूलाई अनुशासित, जिम्मेवार र सभ्य बन्न निर्देशन दिँदै अनेरास्ववियुलाई हिंसात्मक गतिविधिबाट टाढा रहन आह्वान गरे। उनले पार्टीभित्र लोकतन्त्रका नाममा झ्याम्टा बजाउने शैली अस्वीकार्य हुने बताए।

त्यस्तै, उनले सरकार सहमतिबमोजिम अघि बढिरहेको भन्दै १३ महिनापछि नेतृत्व कांग्रेसलाई हस्तान्तरण गरिने दोहोर्याए। सत्ता साझेदार दलहरूबीच कुनै मतान्तर नरहेको उल्लेख गर्दै उनले निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए।