भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछुः प्रधानमन्त्री दाहाल

भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछुः प्रधानमन्त्री दाहाल

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भूमि सट्टापट्टाबारे निर्णय भइसकेको जानकारी दिएका छन् । आज बसेको राष्ट्रिय सभा बैठकमा आफ्नो भारत भ्रमण, नागरिकता विधेयक प्रमाणीकरणबारे उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारतसँग भूमि सट्टापट्टाबारे अरुले नै निर्णय गरिसकेका र यसको प्रमाण समय आएपछि देखाउने बताएका हुन् ।

यसबारे बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको राष्ट्रको अहित यहाँ भयो भन्ने ठाउँ कहीँ छैन । साथीहरूले भन्नुभयो–सट्टापट्टा भन्यो । मैले भनेकै होइन, मैले यसो पनि विगतदेखि यो तर्क पनि छ भनेँ, पत्रकारहरूसँग । मैले अहिले प्रमाण ठ्याक्कै देखाउन त सकिनँ, समय सायद आउँछ, प्रमाण पनि देखाउन सक्छु ।

अहिले जो–जो पार्टी नेताहरूले यो सट्टा भन्ने शब्द आँ...पनि गर्नुहुन्थेन भन्नुभएको छ, उहाँहरूले सट्टाको कुरा निर्णय गराउनु भएको छ । कुनै दिन समय आउला । तर, म के भन्छु भने, नेपालको राष्ट्रियहितको पक्षमा, नेपाली जनताको वृहत्तर विकास र समृद्धिको हितको पक्षमा आफ्नो विवेकले भ्याए जति गरेँ मैले भन्ने छ , मलाई गर्व छ, म खुसी छ ।’