राप्रपा खुम्चिँदै पाँच सिटमा: अध्यक्ष राजेन्द्र लिङ्देन माथि राजीनामाको दबाब बढ्दो, पार्टी भित्र असन्तुष्टि उत्कर्षमा

राप्रपा खुम्चिँदै पाँच सिटमा: अध्यक्ष राजेन्द्र लिङ्देन माथि राजीनामाको दबाब बढ्दो, पार्टी भित्र असन्तुष्टि उत्कर्षमा

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चौध सिट सहित प्रत्यक्षतर्फ र समानुपातिकतर्फ राम्रो उपस्थिति जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यसपटक पाँच सिटमा सीमित भएपछि पार्टीभित्र गम्भीर असन्तुष्टि देखिएको छ।
प्रत्यक्षतर्फ एक मात्र सिट जित्दै र समानुपातिकतर्फ चार सिटमा खुम्चिदा पार्टीको जनाधार कमजोर भएको संकेत देखिएको छ। निर्वाचन परिणाम सँगै अध्यक्ष राजेन्द्र लिङ्देन माथि चौतर्फी राजीनामाको दबाब बढ्दै गएको छ। स्वयं लिङ्देन झापा-३ बाट पराजित भए भने शीर्ष तहका अधिकांश पदाधिकारी चुनावमा भाग नलिनु, असफल हुनु र समानुपातिक मतमा उल्लेख्य गिरावट आउनुले नेतृत्वको कार्यक्षमतामा प्रश्न खडा गरेको छ।
पार्टी भित्र आन्तरिक असन्तुष्टि यसअघि नै सतहमा देखिन थालेको थियो। चुनावअघि पूर्व प्रवक्ता किशोर बहादुर कार्की ले पार्टी परित्याग गरेका थिए भने निर्वाचनपछि वरिष्ठ नेता रबिन्द्र मिश्र, नेता ऋषि बाबु परियार लगायतले पार्टी छोडेका छन्। यस्तै, पूर्व अध्यक्ष प्रकाश चन्द्र लोहनी लगायतका नेताहरूले पनि राजीनामा दिँदै नेतृत्वमा परिवर्तन आवश्यक रहेको धारणा सार्वजनिक गरेका छन्।
नेताहरूको एक समूहले पार्टीको हारको मुख्य कारण नेतृत्वको कार्यशैली, निर्णय प्रक्रिया र संगठन सञ्चालनमा देखिएको कमजोरी रहेको निष्कर्ष निकालेका छन्। उनीहरूले आन्तरिक एकता कायम गर्न नसक्नु, राष्ट्रवादी शक्तिहरूलाई समेट्न असफल हुनु तथा अवसरवाद, नातावाद र सिमित घेराभित्र निर्णय केन्द्रित हुनुजस्ता प्रवृत्तिहरूलाई पार्टी कमजोर हुनुको मुख्य कारण मानेका छन्।
निर्वाचन परिणामअनुसार प्रत्यक्षतर्फ ज्ञानेन्द्र शाही मात्र निर्वाचित भए भने समानुपातिकबाट ताहिर अली, भरत गिरी, खुश्बु ओली र सरस्वती लामा सांसद बनेका छन्। तर १५९ निर्वाचन क्षेत्रमा उम्मेदवारको जमानत जफत हुनु पार्टीका लागि गम्भीर चेतावनीका रूपमा हेरिएको छ।
अघिल्लो निर्वाचनको तुलनामा समानुपातिक मतमा २ लाख ५८ हजारभन्दा बढी मत घटेको छ। यस पटक पार्टीले जम्मा ३ लाख ३० हजार ३८४ मत प्राप्त गरेको तथ्याङ्कले नेतृत्वको जिम्मेवारी र पार्टी सञ्चालन प्रति प्रश्न उठाएको छ।
निर्वाचन परिणाम सार्वजनिक भएको लामो समय बितिसक्दा पनि औपचारिक समीक्षा बैठक नबस्नुले नेतृत्व प्रति असन्तुष्टि अझ चुलिएको छ। केही नेताहरूले तत्काल समीक्षा, आत्म-मूल्यांकन र नेतृत्व ले मार्ग प्रशस्त गरी महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने माग अघि सारेका छन्।
विश्लेषकहरूका अनुसार, पार्टी भित्र समयमै प्रभावकारी कदम नचालिए आगामी निर्वाचनमा राप्रपा अझ कमजोर हुन सक्ने जोखिममा रहेको छ।