राष्ट्र निर्माणको नयाँ दृष्टि: ‘राजा देखि रंङ्क सम्म’ अटाउने संरचना

राष्ट्र निर्माणको नयाँ दृष्टि: ‘राजा देखि रंङ्क सम्म’ अटाउने संरचना

✍️ किशोर बहादुर कार्की (राजनीतिज्ञ तथा समाजसेवी)

समयसापेक्ष बहस

आम बुद्धिजीवी तथा सचेत नागरिकहरूको विश्लेषणमा आधारित समावेशी, धर्म सापेक्ष र प्रणालीमुखी नेपाल निर्माणको आह्वान

नयाँ वर्ष फेरिएको छ, तर सोच फेरिएको छ कि छैन
यो नै आजको सबैभन्दा ठूलो प्रश्न हो।
वर्ष बदलिँदा पात्रहरू फेरिन्छन्, नाराहरू फेरिन्छन्, तर यदि नीति, नियत र दृष्टिकोण उही रह्यो भने परिवर्तन केवल औपचारिकतामा सीमित हुन्छ।

आज पनि हामी राम्रो कुरा गर्न हिच्किचाउँछौं,
सत्य बोल्न डराउँछौं,
सही कुरा स्वीकार गर्न लाज मान्छौं,
र “कसले के भन्ला?” भन्ने मानसिकतामा बन्दी बनेका छौं।

यही सोचले राष्ट्रलाई अघि बढ्न रोकेको छ।
अब हामी स्पष्ट हुनुपर्छ
राम्रो कुरा कसैले भनेको होइन, राष्ट्रको लागि आवश्यक भएकाले स्वीकार गर्नुपर्छ।

यदि हामी अझै पनि व्यक्ति, दल र स्वार्थको घेराभित्रै सीमित भयौं भने,
राष्ट्र निर्माण होइन, राष्ट्र कमजोर बनाउने चक्रमै फसिरहनेछौं।

त्यसैले नयाँ वर्ष केवल शुभकामना आदानप्रदान गर्ने अवसर मात्र होइन,
सही र गलत छुट्याउने,
गलतलाई अस्वीकार गर्ने,
सहीलाई निर्भीक रूपमा स्वीकार गर्ने
राजनीतिक साहस देखाउने समय हो।

यही सन्दर्भमा आजको मूल प्रश्न उठ्छ
के हामी साँच्चिकै सबैलाई समेट्ने राष्ट्र निर्माण गर्न तयार छौं, कि अझै पनि पुनः पुरानै गल्ती दोहोर्याउने हो?

नेपाल विविधताको अनुपम देश हो। यहाँका अनेकौं जातजाति, भाषाभाषी, धर्म, संस्कृति र परम्पराहरूले हाम्रो राष्ट्रिय पहिचान निर्माण गरेका छन्। यही विविधता हाम्रो शक्ति हो, तर जबसम्म यो शक्ति साझा स्वामित्व र समावेशी भावनामा रूपान्तरण हुँदैन, तबसम्म राष्ट्र निर्माण अधुरो नै रहन्छ।

आजको परिवर्तित राजनीतिक र सामाजिक सन्दर्भमा यो प्रश्न झन् सशक्त रूपमा उठिरहेको छ
के नेपाल साँच्चिकै सबैलाई समेट्ने राष्ट्र बन्न सकिरहेको छ?

आम बुद्धिजीवी तथा सचेत नागरिकहरूको विश्लेषणले स्पष्ट देखाउँछ कि, विगतका वर्षहरूमा प्रतिनिधित्वका संरचना विस्तार भए पनि, वास्तविक अपनत्वको अनुभूति अझै स्थापित हुन सकेको छैन।

राजनीतिक प्रतिस्पर्धा बढ्यो, तर राष्ट्रिय दृष्टिकोण कमजोर हुँदै गयो। समावेशीताको नारा उठ्यो, तर व्यवहारमा विभाजन र अविश्वास घट्न सकेन।

यही कारणले आज
“नेपालीको साझा फूलबारी” भन्ने अवधारणा केवल सैद्धान्तिक विषय नभई, समयसापेक्ष राष्ट्रिय आवश्यकता बनेको छ।
“साझा फूलबारी” भन्नाले नेपाललाई यस्तो राष्ट्रका रूपमा बुझिन्छ, जहाँ विविध पहिचानहरू आपसमा प्रतिस्पर्धा होइन, सहअस्तित्वमा रहन्छन्।

फूलबारीमा विभिन्न फूलहरू मिलेर जस्तो सौन्दर्य दिन्छन्, त्यस्तै नेपालमा पनि विभिन्न समुदाय, भाषा, धर्म र संस्कृतिहरूले मिलेर राष्ट्रिय एकता निर्माण गर्छन्।

यदि कुनै एक पक्षलाई मात्र प्राथमिकता दिइयो भने, त्यो सन्तुलन बिग्रन्छ। त्यसैले समावेशी राष्ट्र निर्माणका लागि सबै पक्षलाई समान रूपमा सम्मान र अवसर दिनु अपरिहार्य छ।

यसै सन्दर्भमा “धर्म सापेक्ष वैदिक सनातन राष्ट्र” को अवधारणालाई सन्तुलित ढंगले बुझ्न आवश्यक छ। नेपाल ऐतिहासिक रूपमा वैदिक सनातन परम्परासँग जोडिएको भए पनि, यसको अर्थ कुनै एक धर्मको वर्चस्व स्थापना गर्नु होइन। यसको सार हो
सहिष्णुता, करुणा, सहअस्तित्व र नैतिकतामा आधारित राज्य व्यवस्था,
जहाँ सबै धर्मप्रति समान सम्मान हुन्छ र कुनै पनि समुदायमाथि विभेद हुँदैन।

“राजा देखि रंङ्क सम्म” भन्ने वाक्यांशले पनि यही समावेशी सोचलाई प्रतिविम्बित गर्छ।
“राजा” ले इतिहास, परम्परा र सांस्कृतिक निरन्तरताको प्रतिनिधित्व गर्छ भने
“रंङ्क” ले समाजको अन्तिम पंक्तिमा रहेका नागरिकहरूको अवस्था दर्शाउँछ।
यसको सन्देश स्पष्ट छ

राष्ट्रको संरचना यस्तो हुनुपर्छ, जहाँ शीर्षदेखि तल्लोतहसम्म सबैको समान सम्मान, सहभागिता र संरक्षण सुनिश्चित हुन्छ।

नेपालको इतिहास पल्टाउँदा, आज हामीले “नेपाल” र “नेपाली” भन्ने गौरवका साथ पहिचान बनाउन सक्नुको मूल आधार
राष्ट्र निर्माता राजा पृथ्वीनारायण शाह
को दूरदर्शी नेतृत्व र एकीकरण अभियान हो।
उहाँले साना-साना राज्यहरूलाई एकीकृत गरेर केवल भूगोल मात्र जोड्नुभएन, बरु एउटा साझा राष्ट्रिय चेतनाको जग बसाल्नुभयो।
उहाँका “दिव्य उपदेश” ले आत्मनिर्भरता, राष्ट्रिय एकता र बाह्य प्रभाव प्रति सतर्क रहने स्पष्ट मार्गदर्शन दिएको पाइन्छ।

आजको आवश्यकता भनेको यही ऐतिहासिक चेतनालाई आधुनिक सन्दर्भमा पुनःव्याख्या गर्नु हो। इतिहासलाई अस्वीकार गरेर होइन, त्यसलाई आत्मसात गर्दै समकालीन आवश्यकता अनुसार सन्तुलित संरचना निर्माण गर्नु नै दीर्घकालीन समाधान हुन सक्छ।

तर वर्तमान यथार्थले चुनौतीहरू पनि उत्तिकै स्पष्ट रूपमा देखाएको छ। अवसरवादी राजनीति, व्यक्तिगत स्वार्थ, बाह्य प्रभाव र अस्थिर नेतृत्वका कारण राष्ट्रप्रतिको विश्वास कमजोर भएको छ। नागरिकमा निराशा बढ्दो छ र देशको दिशा अन्योलमा परेको अनुभूति व्यापक छ।

यस्तो अवस्थामा आम नागरिक र बुद्धिजीवी वर्गको निष्कर्ष स्पष्ट छ
अब देशलाई केवल नाराले होइन, स्पष्ट प्रणाली (सिस्टम) ले चलाउनुपर्छ।

यही सन्दर्भमा अर्को गम्भीर प्रश्न आउँछ
अब सच्चिने कि सक्किने?

यो प्रश्न केवल राजनीतिक नेतृत्वका लागि मात्र होइन, उनीहरूको पछि लाग्ने नागरिकहरूका लागि पनि हो। लोकतन्त्रमा नागरिकको भूमिका निर्णायक हुन्छ। यदि नागरिक सचेत भएनन् भने, गलत नेतृत्व दोहोरिन्छ र राष्ट्र फेरि-फेरि प्रयोगशाला बन्ने खतरा रहन्छ।

यही सन्दर्भमा अर्को महत्वपूर्ण यथार्थ पनि हामीले स्वीकार गर्नैपर्छ
आज आम सचेत जनताको मनमा एउटा गहिरो प्रश्न उठिरहेको छ:

यी सबै आवश्यक बहस र प्रस्तावहरू आखिर कसले सुरु गर्ने?
कसले उठाउने?
र कसले नेतृत्व गर्ने?
विगतका अनुभवले जनतामा यस्तो धारणा बलियो बनेको छ कि,

राम्रो विचारहरू धेरै जन्मिन्छन्, तर ती कार्यान्वयनमा जानुअघि नै हराउँछन्, वा स्वार्थ र दबाबको घेराभित्र सीमित हुन्छन्।
यही कारणले आज जनताको चासो केवल विचारमा होइन,