जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको माग सम्बोधन गर्न छुट्टै संयन्त्र
जेनजी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग सम्बोधन गर्न नेपाल सरकारले समर्पित संयन्त्र (डेडिकेटेड टिम) मार्फत काम अघि बढाउने भएको छ।
गृह मन्त्रालयमा सोमबार गृहमन्त्री सुधन गुरूङको नेतृत्वमा भएको छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्यहरू, मुख्य सचिव, गृहसचिव, जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका प्रतिनिधिहरूको सहभागिता थियो।
छलफलमा गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइते व्यक्तिहरूका माग कार्यान्वयनका लागि मन्त्रिपरिषदबाट मंसिर २४ गते स्वीकृत १० बुँदे सम्झौता र ८३ असार १८ गते स्वीकृत २४ बुँदे प्रस्तावको कार्यान्वयनबारे छलफल भएको थियो।
माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सहसचिवको अध्यक्षतामा रहेको सहजीकरण समितिलाई जेन-जीसम्बन्धी विषय मात्र कार्यान्वयन गर्ने समर्पित संयन्त्रका रूपमा जिम्मेवारी तोक्ने निर्णय भएको छ। साथै, शहीद परिवार तथा घाइते व्यक्तिहरूलाई सिंहदरबार प्रवेशमा आवश्यक सहजीकरण गर्ने निर्णयसमेत भएको छ।
थर्ड पोल 