नियोजित डडेलोरु नवदुर्गा गाउँपालिकामा कागजात नष्ट गर्ने षड्यन्त्रको आशंका

नियोजित डडेलोरु नवदुर्गा गाउँपालिकामा कागजात नष्ट गर्ने षड्यन्त्रको आशंका

डडेल्धुरा — नवदुर्गा गाउँपालिकाको केन्द्रमा शनिबार दिउँसो फैलिएको आगलागी सामान्य डडेलो मात्र नभएर योजनाबद्ध षड्यन्त्र भएको आशंका गरिएको छ।

पालिका नजिकको जंगलमा आगो लागेर स्वास्थ्य शाखा, महिला तथा बालबालिका शाखा र आन्तरिक लेखा परीक्षण शाखामा क्षति पुगेको छ। तर, स्थानीयहरू भन्छन् — यो प्राकृतिक डडेलो नभई नियोजित आगलागी हो, जसको उद्देश्य भ्रस्टाचारका प्रमाणहरू नष्ट गर्नु हो।

स्वास्थ्य, महिला तथा बालबालिका र लेखा परीक्षण जस्ता महत्त्वपूर्ण शाखामा रहेको ठुलो संख्यामा कागजातहरु जलेर नष्ट हुनु संयोग मात्र हुन सक्दैन भन्ने गुनासो बढेको छ। कार्यालयमा कार्यालय सहयोगीदेखि अन्य कर्मचारीहरू दिनभर सक्रिय हुने भए पनि आगो फैलिन दिने र रोकथामका कुनै पूर्वतयारी नगर्नु आफैँमा शंकास्पद देखिएको छ।

यस मौसममा डडेलो लाग्न सक्ने पूर्ण जानकारी हुँदाहुँदै पनि कार्यालय वरिपरि झाडी र सुक्खा घाँस व्यवस्थापन नगर्नु, सुरक्षा सतर्कता नअपनाउनु र त्यसपछि महत्त्वपूर्ण शाखामै आगो फैलिनु — यिनै घटनाले यो आगलागीलाई ‘भ्रस्टाचारको डडेलो’ भन्न बाध्य बनाएको छ।

हालसम्म आगलागीबाट कति कति क्षति भएको भन्ने एकीन विवरण नआए पनि, नष्ट भएका कागजातहरू बीच विगतका अनियमितता र भ्रस्टाचारका प्रमाणसमेत रहेको आशंका गरिएको छ।