स्वास्थ्य अवस्था जटिल बनेपछि अनशनरत डा. गोविन्द केसी हेलिकप्टरबाट काठमाडौं ल्याइए

स्वास्थ्य अवस्था जटिल बनेपछि अनशनरत डा. गोविन्द केसी हेलिकप्टरबाट काठमाडौं ल्याइए

इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिने उनका सहयोगी पवन थापाले जानकारी दिएका छन् ।

टाइप–२ मधुमेहका बिरामी रहेका केसीको रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको स्वास्थ्य परीक्षणबाट देखिएको छ । स्वास्थ्य अवस्था निरन्तर बिग्रिँदै गएपछि चिकित्सकहरूले थप विशेष उपचार आवश्यक रहेको बताएका छन् ।

विभिन्न माग राख्दै डा. केसीले बिहीबार साँझदेखि इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए ।