प्रधानमन्त्री ओली भन्छन ;जम्मू-कश्मिरमा भएको आतंकवादी हमलामा नेपाली परे/नपरेको पुष्टी गर्दैछौं

प्रधानमन्त्री ओली भन्छन ;जम्मू-कश्मिरमा भएको आतंकवादी हमलामा नेपाली परे/नपरेको पुष्टी गर्दैछौं

जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको नेपाल सरकारले निन्दा गरेको छ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी पर्यटकमाथि भएको हमलाको कडा शब्दमा निन्दा गर्दै शोकसन्तप्त परिवारहरूप्रति समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको हो।

'नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन्,' विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि घटनाको निन्दा गर्दै दुःखद घडीमा नेपाल भारत सरकारको साथमा रहेको बताएका छन्।

'आतंकवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भत्र्सना गर्दछ,' प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले आक्रमणमा नेपाली नागरिक पनि परेको भन्ने विवरण प्राप्त भएको र त्यसको पुष्टीका लागि सम्बन्धित निकायहरूसँग सरकारले समन्वय गरिरहेको बताए।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी २६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।

मृतकमध्ये अहिलेसम्म दुई जना विदेशी नागरिक, एक नौसेना जवान र दुई जना स्थानीयको पहिचान खुलेको सञ्चार माध्यमहरूले जनाएका छन्।