आज ११औं संविधान दिवसः के भन्छन् राष्ट्रपति, प्रधानमन्त्री र नेताहरू
काठमाडौं । ११औं संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा आज जारी सन्देशहरूमा राजनीतिक नेतृत्वदेखि संवैधानिक पदाधिकारीहरूले संविधानको महत्व, समसामयिक चुनौती र भविष्यको बाटोबारे विचार व्यक्त गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको विरोध आन्दोलन युवा पुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्व भएको बताएकी छन् ।
संविधानको मर्म र भावना बमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमीकमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव वा अपेक्षा पूरा नभएको कारणले पनि युवा आन्दोलनको जन्म भएको उनको ठहर छ
पूर्वप्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आगामी दिनमा समुन्नत लोकतन्त्रउन्मुख संवैधानिक अभ्यास विकास भई नेपालीको चाहना र आकाङ्क्षाले नयाँ मार्गचित्र तय गर्ने विश्वास व्यक्त गरे। उनले नयाँ पुस्ता र नयाँ वातावरणले ओतप्रोत संसद् निर्माण गर्दै भ्रष्टाचारमुक्त सुशासनप्रति आशा जगाइरहेको बताए। हालैको जेनजी आन्दोलनलाई उनले नेपालको इतिहासमा नयाँ मोडको रूपमा व्याख्या गरे।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानलाई नेपाली जनताको पटकपटकको सङ्घर्ष र आन्दोलनको महत्वपूर्ण उपलब्धि बताउँदै यस अवसरमा वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले असोज ३, २०७२ मा कांग्रेसको नेतृत्वमा संविधानसभाबाट संविधान घोषणा भएको स्मरण गर्दै यो संविधानले लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायलाई आत्मसात् गरेको उल्लेख गरे।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नभएको वर्तमान अवस्थामा राष्ट्रियसभाले संवैधानिक दायित्व पूरा गर्न सदैव क्रियाशील रहने प्रतिबद्धता जनाए। उनले नयाँ पुस्ताको आन्दोलनले ल्याएको चेतना र सबै पक्षबीचको एकताबाट तोकिएकै समयमा निर्वाचन सम्पन्न गरेर संविधानको रक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।
सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सकेमात्रै संविधानको रक्षा र विधिको शासन प्रवर्द्धन हुने बताए। उनले जेनजी आन्दोलनले पारदर्शिता र सुशासनप्रति नयाँ चेतना दिएको तर त्यसलाई देखाएर देशमा असामान्य अवस्था सिर्जना गरिएको उल्लेख गरे। उनका अनुसार संविधानले विभेद र असमानताको अन्त्य गर्दै विविधतामा एकताको मार्ग प्रशस्त गरेको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको समावेशी सिद्धान्तलाई पूर्ण रूपमा कार्यान्वयन गर्नु सबै पक्षको सक्रियता र प्रतिबद्धता अपरिहार्य भएको बताए। उनले संविधानलाई दीर्घ सङ्घर्ष र विविधताको ऐतिहासिक उपलब्धि भन्दै संघीय संरचनाको सुदृढीकरण र मौलिक हकहरूको अक्षरशः कार्यान्वयनमा जोड दिए। हालैको जेनजी आन्दोलन र अन्तरिम सरकार गठनको बहसले संविधानको लचकता र समाधानमुखी प्रकृतिलाई पुष्टि गरेको उनको भनाइ थियो।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा टुँडिखेलमा संविधान दिवसको मूल कार्यक्रम गरियो। कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरेकी छन् भने विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष झाँकीलगायतका परम्परागत प्रदर्शन भने स्थगन गरिएको छ।
थर्ड पोल 