नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
बडादशैं अर्थात् नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने गरिन्छ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
नौ दिनसम्म पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसादस्वरूप टीका र जमरा लगाउने परम्परा छ । यसरी नेपालीले १५ दिनसम्म बडादशैं पर्व मनाउँछन् ।
दुर्गा पक्षका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । देवीका यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठलाई विशेष रूपमा सजाइएको छ । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान र भद्रकालीलगायत शक्तिपीठमा दीपावली गरी झिलिमिली बनाइएको छ ।



थर्ड पोल 