काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा जात्रा
आज चैत शुक्ल पूर्णिमा, उपत्यकाका विभिन्न ठाउँमा जात्रा हुँदैछ भने बालाजुको बाइसधारामा मेला भइरहेको छ ।
बाइसधारामा नुहाउनको लागि बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । आजका दिन बाइसधारामा नुहाएर नार्गजुन पहाड चढ्न जाने चलन छ ।
त्यस्तै काठमाण्डौको हाँडी गाँउमा आज गहना खोज्ने जात्रा हुँदैछ । दिउँसो हाडीगाँउमा रहेको पोखरीमा गहना फालेर खोज्ने गरिन्छ ।
किम्वदन्ती अनुसार नुहाउने क्रममा टुँडालदेवीको गहना पोखरीमा खसेको र त्यही गहना खोज्ने प्रतीकअनुसार हरेक वर्ष आजका दिन गहना खोज्ने जात्रा हुने गर्दछ । गहना खोज्ने क्रममा टुँडालदेवीको खटलाई सिन्दूर जात्रा गरेर पोखरीमा डुबाइन्छ ।
त्यस्तै आज नयाँ बजारमा म्हय्पि अजिमाको पनि जात्रा हुँदैछ । साँखुमा बज्रयोगिनी देवीको जात्रा हुँदैछ । आज बज्रयोगिनी देवीलाई मन्दिरबाट निकालेर सिहिणी, ब्राधिनीसहित जात्रा गरिनेछ ।
यता, ललितपुरको सुनाकोठीमा भएको बालकुमारी जात्राको क्रममा आज बेलुकी लिङ्गो ढालिँदैछ । केही दिन अघि ठड्याएको महादेवको प्रतीकको रुपमा लिइने लिङ्गोलाई आज ढालिने चलन छ ।
त्यस्तै आज बेलुकी बालकुमारी देवीलाई मन्दिरमा प्रतिस्थापन गरिँदैछ । हिजो बालकुमारी देवीलाई खटमा राखेर सुनाकोठीको विभिन्न ठाँउमा सिन्दूर जात्रा गरिएको हो ।
त्यस्तै ललितपुरको चापागाँउमा पनि बज्रबाराहीको जात्रा हुँदैछ । हिजोदेखि शुरू भएको जात्राको क्रममा आज बज्रबाराहीलाई खटमा राखेर चापागाँउको विभिन्न ठाँउमा परिक्रमा गरिनेछ ।
त्यस्तै लेलेको जयलकुमारी र बालकुमारीको पनि जात्रा हुँदैछ । किम्वदन्ती अनुसार जयलकुमारी र बालकुमारीलाई टीका भैरवको श्रीमती मानिन्छ । त्यस्तै तारकेश्वर नगरपालिकामा मनमयजुको जात्रा हिजोदेखि सञ्चालन भएको छ ।



थर्ड पोल 